बेलायत इयुबाट बाहिरिँदा नेपाललाई फाइदा बढी कि बेफाइदा ?

युरोपेली संघ इयुबाट बेलायत बाहिरिने भएपछि विश्व अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव परिसकेको छ । जनमत संग्रहको नतिजा आएलगत्तै नेपालको सुन बजारमा पनि प्रत्यक्ष असर देखियो ।
शुक्रबार सुनको भाउ तोलामा ३ हजार रुपैयाँले बढ्यो । हुन त सुनको भाउ बढ्नुमा बेलायतमा भएको जनमत संग्रहको नतिजा मात्र कारण नभएको विज्ञहरु बताउँछन् । तैपनि बेलायत इयुबाट बाहिरिंदा नेपालमा समेत यसको असर देखिने हो कि भन्नेमा सबै चिन्तित छन् ।
यो नतिजाले साँच्चै नेपालमा समेत असर गर्ला त ? अर्थविदहरुका अनुसार विश्वका अरु देशमा प्रत्यक्ष असर देखिन थालेपनि नेपालमा भने तत्काल असर देखिनेछैन । बेलायती अर्थतन्त्रसँग नेपाली अर्थतन्त्रको सम्बन्ध नभएको र विश्व बजारसँग नेपाली बजारको सम्बन्ध स्थापित नभएकाले तत्काल असर नपर्ने उनीहरुको भनाई छ । जानकारहरुका अनुसार जनमत संग्रहको नतिजा सार्वजनिक भएपनि यसको प्रक्रिया पूरा गर्न अझै केही महिना लाग्न सक्छ । त्यतिञ्जेलसम्ममा अवस्था सामान्य भैसक्ने हुनाले नेपालमा खासै प्रभाव पार्नेछैन ।
तर नतिजा आएलगत्तै बेलायती मुद्रा पाउण्ड स्टर्लिङ कमजोर भएको छ । बेलायती मुद्रा कमजोर हुँदा त्यहाँबाट तलब र पेन्सन लिने गोर्खा सैनिकलाई केही घाटा हुने भएको छ ।
यस्तै दीर्घकालिन रुपमा नेपाललाई बेलायतले दिने सहयोग र लगानीमा पनि असर पर्ने अर्थविदहरु बताउँछन् । त्यसो त इयुका सदस्य बाहेकका राष्ट्रहरुलाई आयात निर्यातको नियम कडा छन् । अब बेलायत अलग हुने बित्तिकै उसले अर्थतन्त्रको नियम खुकुलो बनाउने र यसबाट नेपालले फाइदा लिन सक्ने अर्थविदहरु बताउँछन् ।
तर इयुबाट बाहिरिए लगत्तै बेलायतको अर्थतन्त्र कमजोर हुन्छ । बेलायती अर्थतन्त्र कमजोर हुँदा नेपालले पाइरहेको सहयोग कटौती हुने सम्भावना हुन्छ । यस्तै नेपाल घुम्न आउने पर्यटकको संख्या पनि घट्न सक्नेछ ।
बेलायत इयुबाट बाहिरिंदा अर्थतन्त्रमा दीर्घकालिन असर देखिन सक्ने भएपनि राजनीतिक हिसाबबाट भने फाइदा हुन सक्ने विश्लेषण पनि गरिएको छ । इयुको नेतृत्वकर्ता अहिले जर्मनी भएपनि बेलायतको हालीमुहाली थियो । त्यसैले बेलायतले नेपालबारे गर्ने निर्णयमा इयुले समर्थन जनाउँदै आएको थियो । केही महिनाअघि मात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी इयुको मुख्यालय ब्रसेल्स जाँदा भारत र इयुको तर्फबाट नेपालको नयाँ संविधानप्रति आलोचना गर्दै हस्ताक्षर भएको थियो ।
भारत र बेलायतबिचको सम्झौतामा इयु समेत नेपालको नयाँ संविधानमा आलोचना गर्न बाध्य भएको थियो । बेलायत अब इयुबाट छुट्टिएलगत्तै यस्तो अवस्था नआउने र जर्मनीसँगको नेपाल सम्बन्ध सुमधुर भएकाले अब इयुको तर्फबाट नेपाललाई हुने सहयोग र मित्रवत व्यवहार झन् बढ्ने विश्लेषकहरुको भनाई छ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment